भक्तपुर, साउन १२ । अन्तरजातीय विवाह गरेको एक महिनापछि मंगलबार केटीको माइती पक्षले सूर्यविनायकबाट केटीलाई अपहरणको शैलीमा लगेका छन् भने केटालाई कुटपिट गरी फ्याँकिदिएका छन् ।
भक्तपुर नगरपालिका-११ बस्ने वर्ष २२ का रणप्रसाद द्यौला (पोडे) ले गत असार ६ गते काठमाडौँ महानगरपालिका-१३ कालिमाटी बस्ने २३ वर्षकी मनिता महर्जनसँग माइतीपक्षको सहमतिबिना सूर्यविनायक गणेश मन्दिरमा राखी विवाह गरेका थिए ।
विवाह गरेको एक महिनापछि महर्जनको माइती पक्षले अन्तरजातीय विवाह गर्ने दुबैलाई आफूहरूले स्वीकार्ने बनाई सूर्यविनायक बाराही स्थानमा द्यौलालाई कुटपिट गरी महर्जनलाई ट्याक्सीमा हालेर लगेको केटा रणप्रसादले भने ।
“मलाई एकजनाले समातेर अरुले कुटपिट गरेर फ्याँकिदिए, मेरी श्रीमतीलाई अपहरण गरेर लगे,” रणप्रसादले बताए । केटीकी आमा रेणुकुमारी महर्जन, मामा मोहन महर्जन, काकाकाकीलगायत करिब १० जनाको समूहमा आएकाले देख्नेबित्तिकै कुटपिट गरी आफ्नी श्रीमतीलाई लगेको उनले बताए ।
कुटपिट गर्ने समूहमा आएका मनिताका मामा मोहन महर्जनलाई स्थानीयको सहयोगमा महानगरीय प्रहरी प्रभाग जगातेले पक्राउ गरेको छ ।











