
हरेक वर्षचन्द्रमास अनुसार माघ महीनाभरि प्रायः प्रत्येक नेपाली
घरमा सांझपख परिवारका सबै सदस्यहरु र अन्य छिमेकीहरु पनि भेला हुन्छन् र घरको जेठोबाठो
व्यक्तिले धूप र
दियो बालेर 'स्वस्थानी' ग्रन्थका ३१ अध्यायमध्ये एक अध्यायको
वाचन गर्दछ । नेपालीहरुको लागि पवित्र मानिने यस ग्रन्थमा विश्वसृष्टिको वर्णन विभिन्न
देवदेवीहरुको
क्रियाकलापको बयान तथा मर्त्यलोकवासी
र्सवसाधारण मानिसहरुको कथाव्यथाको पनि विवरण प्रस्तुत गरिएको छ । कथा सुनाइने ठाउँ
फूलमालाहरुले सिंगारिएको हुन्छ भने पवित्र 'स्वस्थानी' ग्रन्थ राखिने ठाउँमा भुटेको मकै र भटमास, बदाम र फलफूल, मिर्ठाईं आदि नैवेद्य
राखिएको हुन्छ । 'स्वस्थानी' को कथांश वाचनको काम सकिएपछि त्यहाँ उपस्थित सबैले हातमा अक्षता र फूल लिएर पवित्र
ग्रन्थमाथि ढोग्दै पुष्पाञ्जली अर्पण गर्दछन् । त्यसपछि कथावाचकले सबैलाई स्वस्थानीको
प्रसाद बाँडिदिन्छ । नेवार समुदायमा यस प्रसादलाई 'बाखँपा' अर्थात् 'कथाको प्रसाद' भन्दछन् ।र्
सर्वप्रथम 'स्वस्थानी' ग्रन्थकै छोटकरी परिचय दिनु युक्तिसङ्गत
हुनेछ । संस्कृत भाषामा पद्यमा रचिएको 'स्वस्थानी' ग्रन्थको प्रतिलिपि सन् १५७३
मा जयन्तदेव भन्ने कुनै व्यक्तिले सारेको थियो जुन हामीसम्म आइपुगेको सबभन्दा पुरानो
पाण्डुलिपि हो । त्यो कुनै अझ पुरानो तर हाल अप्राप्य ग्रन्थबाट सारेको हुनु सम्भव
छ, किनभने त्यसको भाषामा
धेरै अशुद्धिहरु रहेका छन् । स्वस्थानीदेवीको आराधनापछि गोमाको दुख निवारण भई उसले
सुखपूर्वक जीवन यापन गर्न पाएको वर्णन नै यसको मूल विषय हो । यस कथामा वर्णित स्थानहरु
काठमाडौं उपत्यकाको अहिलेको साँखु शहरको आसपासमा रहेका छन् । प्रतिलिपिकारद्वारा ताडपत्रमा
सारिएको त्यो पाण्डुलिपि राष्ट्रिय अभिलेखागारमा सुरक्षित रहेको छ । शिव र पार्वतीबीच
कथोपकथन शैलीमा रचिएको त्यस श्लोकबद्ध ग्रन्थमा पछि अन्य पुराणहरु, मुख्यतया 'स्कन्दपुराण' बाट कैयौं कथाहरु
पनि थपिएको अनुमान हुन्छ । यसका साथै षड्मुखी कार्तिकेय अर्थात् स्कन्दकुमार (नेपालमा प्रचलित नाम : कुमार) र अगस्त्य मुनिका बीच प्रश्नोत्तर शैलीमा कथानकले विकास गरेको
पाइन्छ । प्रत्येक अध्यायको अन्त्यमा 'स्कन्दपुराण' को हवाला दिइएको छ । उल्लेखयोग्य के पनि छ भने स्वयं कुमार नै
“स्वस्थानी” कथाका एक पात्रको भूमिका निर्वाह गर्न पुग्दछन् । स्पष्ट छ, 'स्वस्थानी' मा समाविष्ट पौराणिक
पुराकथा र अनुश्रुतिहरु प्राचीन कालदेखि नेपालमा प्रचलित थिए र ती विभिन्न पुराणग्रन्थहरुबाट
लिइएका थिए । पछि विश्वब्रह्माण्डको केन्द्रको रुपमा स्वस्थानीदेवीको पूजा हुन थालेपछि
यी पुराकथा र अनुश्रुतिहरु एउटा ग्रन्थमा समाविष्ट गरिए ।
प्राचीन कालदेखि आजसम्मका नेपालवासीहरुको
मनोभावना प्रतिबिम्बित भएको 'स्वस्थानी' ग्रन्थको आफ्नै मौलिक विशेषता छ । नेपालमा प्राचीन कालदेखि अस्तित्वमा
रहेका शैव, बैष्णव, शाक्त आदि धार्मिक सम्प्रदायहरुको समन्वय नै यस पवित्र ग्रन्थको मेरुदण्ड हो ।
विश्वको सृष्टि, देवदेवीहरुको पराक्रम र पृथ्वीवासी साधारण मानिसहरुको प्रारव्ध आदिको वर्णन यस
ग्रन्थमा गरिएको छ । सोह्रौं शताव्दीमा यो ग्रन्थ नेपालमा ज्यादै लोकप्रिय रहेको बुझिन्छ, यद्यपि त्यसमा वर्णित
अनुश्रुति र पुराकथाहरु लिच्छवि कालमा समेत प्रचलित थिए । शुरुमा यस ग्रन्थको अनुवाद
नेवारीमा र त्यसपछि मैथिली भाषामा पनि भएको थियो । अद्यापि अधिकांश नेवारहरुको घरमा नेवारीमै स्वस्थानीको कथा पढ्ने गरिन्छ । नेवारी लिपिमा मुद्रणको
व्यवस्था नभएको हुँदा नेवारीमा गरिएको अनुवाद अमुद्रित रुपमै रहेको छ । नेवारी भाषाको
पाठ आफ्नै किसिमको
पुरानो शैलीमा लेखिएको छ र भाषिक रुप
पनि पुरानै छ (निसन्देह नै त्यसको आधुनिक संस्करण पनि कुनै दिन मुद्रित रूपमा
देख्न पाइने छ) । मूल पाठको अतिरिक्त त्यसमा स्वस्थानीदेवीको पूजाविधिको पनि वर्णन गरिएको छ ।
यस्तो पूजाविधिको वर्णन “थ्यासफू” भनिने मध्यकालीन नेवारी लेखोटमा पनि पाइएको छ । पछिल्लो
समयमा 'स्वस्थानी' ग्रन्थको नेपाली भाषामा गरिएको अनुवाद निकै लोकप्रिय भएको छ र त्यसका कैयौं संस्करणहरु
निस्किसकेका छन्
(स्वस्थानी व्रतकथा, २०२५, संस्करण, १२) । नेपालमा यो ग्रन्थ कति लोकप्रिय छ भने प्रायः हरेक नेपालीको
घरमा ठूल्ठूला छापा अक्षरमा छापिएको यो पवित्र ग्रन्थ देख्न पाइन्छ । कनीकुथी लेखपढ
गर्न सक्ने व्यक्तिले पनि माघ महीनामा यसको कथा पढ्न सक्तछ ।
यसै ग्रन्थको आधारमा यसै पंक्तिकारबाट
रूसी भाषामा तयार पारिएको पुस्तक पनि मास्कोबाट सन् १९९६ मा प्रकाशमा ल्याइएको छ (कुनै जिज्ञासु पाठकले त्यस पुस्तकको कम्प्युटरीय संस्करण पनि इन्टरनेटमा राखिदिएको
रहेछ) । त्यसमा 'स्वस्थानी' कै कथाक्रम यथावत्
कायम राखी 'विश्व सृष्टि', 'आकाशीय त्रिपुर', 'सतीदेवीको आख्यान', 'पार्वतीको आख्यान' र 'गोमाको आख्यान' शीर्षकमा आबद्ध ५ अध्यायलाई ३१ ख्ण्डमा विभाजित गरिएको छ । यसका अतिरिक्त पुछारमा 'नामानुक्रमणिका' र आरम्भमा विवेचनात्मक 'भूमिका' रहेको छ । त्यसै
भूमिकाको आधारमा नै प्रस्तुत लेख तयार
पारिएको हो ।
कुन कुराको पनि उल्लेख गर्नु आवश्यक छ भने स्वस्थानी देवीको
व्यापक पूजा नेपालमा मात्र हुन्छ । स्वस्थानी भन्ने नाम संस्कृत शव्दको तीन पद (स्व - आफ्नो, स्थान - ठाउँ र र्इ - स्त्रीलिंगसूचक प्रत्यय अर्थात् प्रस्तुत सन्दर्भमा देवी) को संयोगबाट बनेको छ जसको अर्थ हुन्छ
: आफ्नै स्थानकी देवी अर्थात् सर्वव्यापी शक्ति । काठमाडौं उपत्यकामा
व्रतालुहरूले स्वस्थानी देवीको उपासना साँखुनजिकै बग्ने साली नदीको तटमा सम्पन्न गर्ने
परम्परा रहे तापनि यस देवीको उपस्थिति जुनसुकै स्थानमा पनि हुन सक्ने अवधारणा छ ।
स्वस्थानीदेवीको प्रस्तरमूर्ति चाहिं
राजधानीकों तलेजुमन्दिर छेवैमा मखनटोलस्थित तानाबहालमा रहेको छ । यसै पंक्तिकारकी कुलदेवी तारिणी (तानाद्य:) को होचो मन्दिरको हाताभित्र प्रवेशद्वारसामुन्ने
त्यस मूर्तिको स्थापना काठमाडौंका राजा प्रताप मल्लले सन्
१६७९ मा गराएका थिए । त्यहाँ स्थापित तीन प्रस्तरमूर्तिमध्ये एकातिर मत्स्येनारायण
तथा अर्कोतिर लक्ष्मीनारायणको स्थापना गरिएको छ भने बीचमा चार-चार हातमा आआफ्ना आयुध धारण गरी साँढेमा आसन जमाएर
बसेका शिवको देब्रेतिर सिंहको पिठ्यूमा पलेटी कसेर बसेकी स्वस्थानीदेवीलाई देख्न सकिन्छ
। शिवले आफ्ना तीन हातहरूमा रुद्राक्षमाला, त्रिशूल र भिक्षापात्र धारण गरेका छन् भने स्वस्थानीदेवीले चाहिं
दायाँ हातमा खड्ग र बायाँ हातहरूमा ढाल र पद्म लिएकी छिन् । शिवको दाहिने चाहिं खाली
हात अभयमुद्रामा छ भने स्वस्थानीदेवीको दाहिने खाली हातले वरदमुद्राको अभिव्यक्ति गर्दछ
। यस प्रकार प्रस्तरमूर्तिमा पनि स्वस्थानीदेवीको चित्रण पवित्र ग्रन्थमा वर्णन
गरिएकै रूपमा भएको पाइन्छ ।
कुन कुरा निश्चित छ भने 'स्वस्थानी' ग्रन्थमा वर्णित अनुश्रुति र किम्बदन्तीहरु
नेपालमा प्राचीन कालदेखि नै प्रचलित रहेका थिए । यी कथाहरु मुख्यतः हिन्दू धर्मका पवित्र
पुराणहरुबाट प्राप्त गरिएका हुन् । पछि विश्वब्रह्माण्डमा
केन्द्रिय स्थान ग्रहण गर्ने परमेश्वरीको रुपमा स्वस्थानीको पूजा हुन थालेपछि यी अनुश्रुति
र किम्बदन्तीहरुको आधारमा स्थानीय किम्बदन्तीहरु समेत थपेर ”स्वस्थानी” ग्रन्थ तयार पारियो । यस ग्रन्थका मूल स्रोतहरु प्राचीन
भारतीय पुराणहरुमै सन्निहित रहे तापनि तिनलाई स्थानीय रुपरङ्गमा ढालिएको हुँदा हिन्दू धर्मको एक विरलकोटिकी देवीको रुपमा स्वस्थानीको परिकल्पना
गरिएझैं यो
ग्रन्थ पनि नेपाली धार्मिक साहित्यको एक अनुपम कृति बन्न पुगेको छ ।
सर्ववीदितै छ, नेपालमा कहिल्यै पनि धर्मको नाममा युद्ध भएको पाइँदैन, यद्यपि यस देशमा प्राचीन कालदेखि नै विभिन्न नृवंशात्मक समुदायहरु तथा धार्मिक सम्प्रदायहरु अस्तित्वमा रहिआएका छन् । नेपालका एक प्राचीनतम जाति मानिने नेवार जातिले परापूर्व कालदेखि नै हिन्दूधर्म र बुद्धधर्मको अनुसरण गर्दैआएका छन् र यी दुवै धर्महरुबीच यस किसिमबाट समन्वय भइसकेको छ कि दुवै थरीका नेवारहरुले मान्दैआएका देवदेवीहरु कुन धर्मसित सम्बन्धित छन् भनेर नेपालको अध्ययनमा संलग्न विशेषज्ञहरु समेत सहजै छुट्याउन सक्तैनन् । सम्भवतः “स्वस्थानी” ग्रन्थमा पनि शैव र बैष्णव जस्ता हिन्दू धर्मका दुर्इ प्रमुख सम्प्रदायहरुको यस्तै समन्वयको प्रतिबिम्ब परेको छ । के पनि सम्भव छ भने प्राचीन कालमा यी दुर्इ प्रमुख सम्प्रदायहरुबीच यहाँ वैचारिक संघर्ष चलेको हुँदो हो । यस संघर्षमा अन्ततोगत्वा नेपालीहरुको धर्मसहिष्णुताको भावना नै विजयी भयो र दुवै प्रमुख देवता अर्थात् विष्णु तथा शिवको समन्वयात्मक नयाँ रुप अर्थात् हरिहरको पूजा हुन थाल्यो । उदाहरणार्थ, बूढानीलकण्ठको शेषशयनी प्रस्तर मूर्तिमा त विष्णु र शिवको एकत्व मात्र नभई बुद्धलाई समेत समाविष्ट गरिएको पाइन्छ । यस प्रकार के निष्कर्ष निकाल्न सकिन्छ भने पवित्र “स्वस्थानी” ग्रन्थमा लिच्छवि कालदेखि नै नेपालमा अस्तित्वमा रहेको धर्मसहिष्णुताको भावना टड्कारोसंग प्रतिबिम्बित भएको पाइन्छ ।
पवित्र “स्वस्थानी” ग्रन्थमा वर्णित कथानकहरुको आधारमा विभिन्न साहित्यिक कृति र कलाकृतिहरुको पनि सिर्जना भएको पाइन्छ । उदाहरणस्वरुप
ईशाको चौथो शताव्दीतिर नै संस्कृत साहित्यका प्रसिद्ध कवि कालीदासले “कुमारसम्भव” काव्यको रचना गरेका थिए । त्यसको कथानक शिव र पार्वतीका पुत्र स्कन्दकुमारको जन्मसित सम्बन्धित छ । यसै कथानकको आधारमा प्राचीन नेपालका मूर्तिकारले प्रस्तर मूर्तिहरुको निर्माण गरेको पाइन्छ । तिनमा शिवपरिवारको जीवनका विभिन्न झाँकीहरु प्रस्तुत गरिएका छन् । उदाहरणार्थ, स्वस्थानी देवीको पूजामा संलग्न पार्वतीको चित्रण गरिएको परिदृश्य, सुन्दर युवकको रुपमा उनको अगाडि शिवको आगमनको परिदृश्य, शिव र पार्वतीको प्रणयको परिदृश्य वा परिवारमा पुत्रको जन्मबाट आल्हादित शिव र पार्वती दम्पतिको परिदृश्यकै चर्चा गर्न सकिन्छ । काठमाडौं नघलटोलमा भेटृइएका यी प्रस्तरमूर्तिहरु कुनै समयमा शिवको मन्दिरलाई सिंगार्न बनाइएका हुन् कि भन्ने अनुमान गरिएको छ । कलामर्मज्ञहरु यी प्रस्तरमूर्तिहरुका निर्माताहरुको शिल्पकारिताबाट निकै प्रभावित रहेका छन् र तिनको निर्माण लिच्छवि काल (र्इशाको प्रथमदेखि आठौं शताव्दी) मै भएको हुनुपर्दछ भन्ने निष्कर्ष
निकालिएको छ । काठमाडौं उपत्यकामा शिव, विष्णु र अन्य देवदेवीका लिच्छविकालीन प्रस्तर मूर्तिहरु प्रशस्त पाइएका छन् । यस्ता मूर्तिहरु त्यसपछिका युगहरुमा पनि प्रशस्तै निर्माण गरिएका थिए । हाल “स्वस्थानी” ग्रन्थमा वर्णित कथाहरुको आधारमा काव्यहरुको मात्र नभई चलचित्रहरुको समेत निर्माण हुन थालेको छ । सन् १९९५ मा स्वस्थानी चलचित्रको नेपालमा प्रथम प्रदर्शन भएको थियो । यसरी “स्वस्थानी” ग्रन्थ स्रष्टाहरूका लागि साहित्य र कलाको सिर्जनामा
प्रेरणास्रोत बनेको छ ।
(रूसी भाषामा)
कृष्णप्रकाश श्रेष्ठ, स्वस्थानी
(नेपालका पुराकथा र किम्बदन्ती), नेपालमाला ४, मास्को, ई.सं. १९९६ ।
१६ जनवरी २०12 (सोमवार)
मास्को, रूस महासंघ ।



.gif)







