
लामो प्रवासकालपछि हामी स्वदेश फर्कदै छौं। यस अवसरमा म एकदुई शब्द देशवासीका नाममा सम्बोधन गर्नु उचित ठान्दछु। हाम्रो देश आज राष्ट्रिय संकटमा छ। यता केही वर्षदेखि यो संकट चर्किदै गएको कुरा सबैले महसुस गरेकै हो। यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। यस तथ्यलाई अरूले खतराको चर्चा गरेका छन्। यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कदै छौ। हाम्रो विचारमा अस्तित्वको संकट आईपर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्त्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखाडा बनाउन सफल हुन थालेका छन्। राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान कार्यले मात्र स्थापित हुन्छ। यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार तयार पार्छ। कोरा नाराले मात्र हुने भए बितेका १६ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर सोचनीय स्थितिमा पुग्नुपर्ने थिएन।
आज देशमा स्वार्थपरायण, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ। यस्ति परिस्थितिमा सबभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ।
हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। यो दोस्रो जिम्मेवारी हो—देशको अस्तित्वको रक्षा गर्ने। हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौँ—राष्ट्रियता र प्रजातन्त्र। भन्नुको तात्पर्य के हो भने प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेदारी नेपालीले लिनुपरेको छ। यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौँ भने हामी एक पक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन। त्यति मात्र होइन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौ। यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यौँ भने १६ वर्षको खोक्रो राष्ट्रियताको नराबाजीमा जान्छौ र अधिनायकवादको पक्षधर हुन्छौ। यस्तो खोक्रो राष्ट्रियताले राष्ट्र रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन। त्यसैले हामीले के कुरा बुझ्नुपरेको छ भने राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ। यसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एकअर्कामा आधारित तत्त्व हुन्।
नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ। २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन। त्यसपछि आम चुनावलाई सदाका लागि स्थगित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो। त्यस आन्दोलनमा धेरै अरू दलहरूको सहयोग पनि हामीलाई प्राप्त भएको थियो। २०१७ सालमा प्रजातन्त्रउपरको निर्मम एवं सांघातिक प्रहारपछि कांग्रेसले प्रजातन्त्रको पक्षमा संघर्ष (रेजिस्टेन्स मुभमेन्ट) गर्यो र आज देशका उपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौँ, जुन निर्णय कांग्रेसको परम्पराअनुरूप छ।
प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडि पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यासको अस्तित्त्वको रक्षा गर्नुपर्छ। हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ। हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनिहरूलाई हाम्रो यो भन्नु छ कि हामी माथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्त्वको खतराको सामु नगण्य भन्ठानेर नै यो ऐतिहसिक निर्णय हामीले लिएका हौँ। कांग्रेसका कार्यकर्ताले पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देश प्रेमको उदाहरण प्रस्तुत गरेका छन्।
यस राष्ट्रिय संकटको बेलामा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ। मलाई थाहा छैन, देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु। यस वक्तव्यद्वारा म नेपाली कांग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपिल गर्न चाहन्छु कि राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृध्दिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौँ। मैले अवसर पाएको खण्डमा श्री ५ महाराजाधिराजसमक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु। राष्ट्रलाई जोगाउने जिम्मेवारी सबैको जिम्मेवारी हो।
जय नेपाल्
(जननायक बी. पी. कोइरालाले आठवर्षको निर्वासनपछि स्वेदेश फर्कँदै गर्दा २०३३ साल पुस १६ गते देशवासीका नाममा जारी गर्नुभएको अपिल)




.gif)







